इजिप्ट । प्राचीन ह्वेलको अस्थिपञ्जरको अंश इजिप्टको पश्चिमी मरुभूमिमा फेला परेको छ
इजिप्टका वैज्ञानिकहरूले चार करोड ३० लाख वर्षअगाडि अस्तित्वमा रहेको चारखुट्टे ह्वेलको एउटा नयाँ प्रजाति पहिचान गरेका छन्।
वैज्ञानिक नाम फिओमिसेटुस अन्युबिस दिइएको उक्त ह्वेल उभयचर थियो अर्थात् जल र भूमि दुवै ठाउँमा विचरण गर्थ्यो।
उक्त ह्वेलको जीवावशेष इजिप्टको वेस्टर्न डिजर्टमा फेला परेको हो।
उक्त ह्वेलको खप्पर प्राचीन इजिप्टमा मृत्युका देवताका रूपमा पूजित स्यालको टाउको भएका अन्युबिससँग मिल्दोजुल्दो छ।
त्यसैले यो प्रजातिको वैज्ञानिक नाम तिनै मृत्युदेवको नाममा राखिएको छ।
आधुनिक ह्वेलका पुर्खाहरू भूमिमा बस्ने मृगजस्ता स्तनपायी जीवबाट एक करोड वर्षको अवधिमा विकसित भएका हुन्।
फिओमिसेटुस अन्युबिसको तौल झन्डै ६०० केजी र लम्बाइ तीन मिटर भएको र सिकार समात्न आवश्यक पर्ने भएकाले त्यसको च्यापु बलियो भएको प्रोसीडिङ्स अफ द रोयल सोसाइटीमा प्रकाशित शोधमा उल्लेख छ।
कहाँ फेला परेको होरु
चारवटा खुट्टा भएको उक्त ह्वेल जमिनमा हिँड्न र पानीमा पौडिन सक्थ्यो।
इजिप्टको फायुम डिप्रेशनमा फेला परेको आंशिक अस्थिपञ्जरको मन्सूरा विश्वविद्यालयमा विश्लेषण गरिएको थियो।
त्यो क्षेत्रमा अहिले मरुभूमि भए पनि पहिला समुद्र थियो। त्यहाँ धेरै जीवावशेष फेला पर्ने गरेको छ।
ूफिओमिसेटुस अन्युबिस ह्वेलको एउटा महत्त्वपूर्ण नयाँ प्रजाति हो अनि इजिप्ट र अफ्रिकाको जीवाश्मविज्ञानका लागि एउटा महत्त्वपूर्ण खोज पनि हो,ू प्रमुख शोधकर्ता अब्दुल्लाह गोहरले समाचारसंस्था रोएटर्ससँग भने।