वडादशैँ सुरु, हनुमान ढोकामा राखियो जमरा

maitrinews

 

काठमाडौँ । हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैं आजदेखि सुरु भएको छ । असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।

हुनमान ढोकास्थित दसैं घरमा बिहीबार विधवत रुपमा घटस्थापना गरिएको छ । बिहान ११ बजेर ४६ मिनेटमा दसैं घरमा घटस्थापना गरिएको हो । सो अवसरमा नेपाली सेनाले मंगल धुन बजाएको थियो । सो अवसरमा बन्दुक पड्काएर बढ्याइँ गरिएको थियो ।

बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।कूल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।