समुद्री आँधीबाट फिलिपिन्सको पर्यटकीय टापु सिरगाओमा विनाश

 

फिलिपिन्स । दक्षिण फिलिपिन्स हुँदै मडारिएको शक्तिशाली समुद्री आँधीले त्यहाँको लोकप्रिय पर्यटकीय क्षेत्र तहसनहस बनाएको अधिकारीहरूले बताएका छन्।

मानिसहरू बिदा मनाउन पुग्ने सिरगाओ टापुमा १९५ किलोमिटर प्रतिघण्टाको हुरीसहित आएको राई समुद्री आँधीले भारी वर्षा गराएको थियो।

तीव्र गतिको आँधीले बाटोमा परेका घरहरू ढलाउँदा लाखौँ मानिसहरू विस्थापित भएका छन्।

संयुक्त राष्ट्रसङ्घले एक करोड ३० लाख मानिसहरू प्रभावित भएका जनाएको छ। शुक्रवारसम्म १२ जनाको मृत्यु पुष्टि भएको छ।

सिरगाओमा रुखहरू जरैसँग उखेलिएका छन् भने बिजुलीका तार र खम्बाहरू ढलेका छन्।

जताततै बाढी आएपछि हजारौँ मानिसहरू घर छोडेर सुरक्षित स्थलमा आश्रय लिइरहेको बताइएको छ।

अधिकारीहरूले विमानस्थलको प्रमुख टर्मिनलमा क्षति पुगे पनि धावनमार्ग उद्धार उडानहरूका लागि चालु रहेको बताएका छन्।