कैदीको भेषमै अदालत पुगिन् सूची

 

म्यान्मार । गत वर्ष सेनाले पदच्युत गरेपछि कारागारमा रहेकी वर्माकी नेतृ आङ सान सूची कैदीको भेषमा नै अदालत उपस्थित भएकी छिन् । आफूमाथि लागेका आरोपबारे सुनुवाइका क्रममा अदालतमा उपस्थित भएकी ७६ वर्षीया सूचीले सेतो टप र खैरो लुगी लगाएकी थिइन् । यो पोसाक बर्मामा आमबन्दीले लगाउँछन् ।

कैदीको भेषमा सुकी अदालत पुगेको यो पहिलो पटक हो । सैन्य सरकारविरुद्ध उत्तेजक अभिव्यक्ति दिएको र कोभिडसम्बन्धी नियम पालना नगरेको आरोपमा त्यहाँको अदालतले उनलाई दुई वर्ष जेल सजाय तोकेको छ । गत फेब्रुअरीमा नागरिक सरकारलाई पदच्युत गरी सेनाले सत्ता लिएपछि बर्मामा राजनीतिक संकट निम्तिएको छ । सेनाको कदमको विरोधमा देशव्यापी प्रदर्शन भएका छन् । प्रदर्शन नियन्त्रण गर्ने क्रममा सेनाको जुन्ता सरकारले १३ सय जनाको हत्या गरेको विभिन्न अध्ययन प्रतिवेदनमा दर्शाइएको छ ।