भारतले ७३औँ गणतन्त्र दिवस मनाउँदै

maitrinews

 

काठमाडौं । भारतले आज ७३ औं गणतन्त्र दिवस मनाइरहेको छ । सो अवसरमा आज भारतमा विशेष कार्यक्रम हुँदैछ । गणतन्त्र दिवस यसपालि विभिन्न अर्थमा विशेष रहेको जनाइएको छ । सबै परम्परालाई समेटेर कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

यसपालि अहिलेसम्मकै सबैभन्दा ठूलो फ्लाइपास्ट हुनेछ । राजपथमा सबैभन्दा ठूलो फ्लाइपास्ट हुन लागेको हो । भारतीय वायुसेना, सेना र नौसेनाका ७५ लडाकू विमानले फ्लाइपास्ट गर्नेछन् । पहिलो पटक ड्रोन शो आयोजना गरिने छ । २९ जनवरीमा बिटिङ रिट्रिट कार्यक्रमका अवसरमा १ हजार ड्रोन समारोहका हिस्सा हुने बताइएको छ ।

अमेरिका, चीन र रुसपछि भारत ड्रोन शो गर्ने चौथो राष्ट्र हुनेछ । स्वतन्त्रताको यति लामो अवधिमा पहिलो पटक कार्यक्रम आधा घण्टा ढिला शुरु हुनेछ । सधै १० बजे कार्यक्रम हुँदै आएकामा यसपालि १०ः३० बजे शुरु हुनेछ ।

राजपथमा सबैभन्दा पहिले देशका परमवीर चक्र विजेता र अशोक चक्र विजेता खुला जिप्सीमा पुग्नेछन् । अनि राष्ट्रपतिलाई सलामी दिनेछन् ।

लगातार दोस्रो वर्ष कुनै पनि विदेशी पाहुना नहुने भएका छन् । यसपालि समाजका कमजोर मानिएका चालक, रिक्साचालक, मजदूर, सरसफाइ कर्मचारी र फ्रन्टलाइन स्वास्थ्यकर्मीलाई परेड देखाउने विशेष योजना बनाइएको छ ।

पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमर जवान ज्योति नगई नेशनल वार म्युजियम जानेछन् । इन्डिया गेटस्थित अमर जवान ज्योतिलाई नेशनल वार मेमोरियल स्थित अमर जवान ज्योतिमा विलय गराइएको छ ।

गणतन्त्र दिवसको अवसरमा इन्डिया गेटमा नेताजी सुभाषचन्द्र बोसको होलोग्राम छवि पनि देखाइने छ । मूर्ति नबनुन्जेल यही होलोग्राम छवि राखिने छ ।

आजको परेड समारोहमा पूर्ण डोज खोप लगाएका वयस्क र एक डोज लगाएका बालबालिका जान सक्नेछन् । १५ वर्षभन्दा कम उमेरकाले भने कार्यक्रममा सहभागीता जनाउन पाउने छैनन् ।

समारोहमा ६ हजार दर्शकमात्र हुनेछन् । गत वर्ष २५ हजार दर्शक रहेका थिए ।

यसपालि महात्मा गान्धीको मनपर्ने धुन बज्ने छैन । उनलाई मन पर्ने धुन ‘अबाइड विथ मी’ थियो । यसलाई हटाइएकोमा विवाद भएको छ । कांग्रेस आईले गान्धीको विरासत समाप्त गर्न भाजपा सरकारले चाल चलेको आरोप लगाएको छ ।

यो धुनको सट्टा ‘सारे जहाँ से अच्छा’ धुन बज्नेछ ।

भारतले हरेक वर्ष गणतन्त्र दिवस आठ दिनसम्म मनाउने गर्छ । सुभाषचन्द्र बोसको जन्म जयन्ती २३ जनवरी र महात्मा गान्धीको पूण्यतिथि ३० जववरी ९शहीद दिवस० सम्म मनाउने गरिएको हो ।