रुस र बेलारुस संयुक्त सैन्य अभ्यास गर्दै

maitrinews

मस्को । रुसले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरेका बेला बेलारुससँग १० दिने संयुक्त सैन्य अभ्याससमेत गर्न थालेको छ ।
यो सैन्य अभ्यासलाई नेटोले पूर्व सोभियत बेलारुसमा शीतयुद्धपछि रूसको सबैभन्दा ठूलो सैन्य तैनाथी भनेको छ । बेलारुससँगको सैन्य अभ्यासमा करिब ३० हजार रुसी सेनाले भाग लिने अपेक्षा गरिएको छ।

बेलारुसका नेता अलेक्जेन्डर लुकाशेन्को रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका दृढ सहयोगी मानिन्छन् । सन् २०२० मा लुकाशेन्कोविरुद्ध बेलारुस ठूलो प्रदर्शन हुँदा रुसले उनलाई समर्थन गरेको थियो ।

रुसी प्रवक्ताले यो संयुक्त सैन्य अभ्यासलाई गम्भीर रूपमा वर्णन गर्दै रुस र बेलारुसले अभूतपूर्व खतराहरूको सामना गरिरहेको टिप्पणी गरेका छन् ।
ह्वाइट हाउसले यो सैन्य अभ्यासलाई युक्रेनमाथिको तनावलाई झनै बढाउने गतिविधि भएको भनेको छ ।

रुसले सीमामा एक लाखभन्दा बढी सेना र ठूलठूला हातहतियार तैनाथ गरे पनि युक्रेनमाथि आक्रमण गर्ने योजनालाई बारम्बार अस्वीकार गर्दै आएको छ।
तर अमेरिका लगायत अन्य पश्चिमी मुलुकले रुसले युक्रेनमाथि जुनसुकै बेला आक्रमण गर्नसक्ने चेतावनी दिएको छ ।
सन् २०१४ मा रुसले युक्रेनको दक्षिणी भाग क्रिमिया प्रायद्वीपलाई आफ्नो कब्जामा लिएको थियो । त्यसबेलादेखि रुस युक्रेनबीच तनाव बढेको थियो ।