वरिष्ठ लोक गायक जयनन्द लामाको निधन
काठमाडौं । वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ। उनको भक्तपुरस्थित कौशलटारमा मंगलवार राति निधन भएको हो।
राति एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए। कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’का अनुसार गेटमा लडेर खुट्टा भित्र र टाउको बाहिर भई लडिरहेको अवस्थामा बिहान दुध ल्याउने मान्छेले देखेका थिए। त्यसपछि दुध ल्याउने मान्छेले घरका सदस्यलाई खबर गरेका थिए।
सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका २ धार्पाका लामा दर्जनौं लोकप्रिय लोकगीत संकलन तथा गाएका छन्। उनको स्वरमा कलकते काइँयो‚ चुइँचुइँ चुइँकिने जुत्तालगायतका लोकप्रिय गीत रहेको छ। साथै‚ उनले दर्जनौं नेपाली चलचित्रमा अभिनय गरेका छन्। ७० वर्षीय स्वर्गीय लामाका दुई छोरा र श्रीमती छन्।