निर्वाचनमा होमिन नेता, कार्यकर्तालाई ओलीको निर्देशन
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै दुविधाबिना निर्वाचनमा होमिन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि एमालेको प्रतिबद्धता पत्र तयारी भर्चुअल कार्यशालालाई बुधबार सम्बोधन गर्दै ओलीले एमाले एक पार्टी र अरु सबै मिलाएर एक पार्टी भएकाले निर्धक्क भएर चुनावी तयारीमा लाग्न निर्देशन दिनुभएको हो ।
ओलीले विगतका केन्द्र, प्रदेश र स्थानीय तहमा एमालेका सरकारहरूले गरेका गौरवपूर्ण कामहरू लिएर जनतामा जानसमेत भन्नुभयो । प्रतिबद्धता पत्र मस्यौदा समितिका संयोजक तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिबद्धता पत्रका सैद्धान्तिक पक्षमाथि प्रकाश पार्नुभएको थियो भने मस्यौदा समितिका सदस्य सुशील ज्ञवालीले प्रतिबद्धतापत्रबारे व्याख्या गर्नुभयो ।
