दिल्ली दूतावासमा चुच्चे नक्सा हटाइयो, ओलीको आपत्ति

maitrinews

 

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिल्लीस्थित नेपाली दूतावासमा लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा नराखेको भन्दै आपत्ति जनाउनुभएको छ ।
बुद्धिजिवी परिषद्‌को १० औं महाधिवेशनको उद्घाटन गर्दै उहाँले दूतवासमा चुच्चे नभर्इ बुच्चे नक्सा राखिएको बताउनुभयो । उहाँले यस्तो काम वर्तमान सरकारले पटकपटक गरेको पनि बताउनुभयो ।
‘सम्मानीय प्रधानमन्त्रीले प्रकाशित गरेको एक सय दिनको विवरणमा चुच्चे नक्सा हटाइयो । भौगोलिक अखण्डाप्रतिको यो खेलबाड के साधारण कुरा हो ? ’ ओलीले भन्नुभयो, ‘हिजो मात्रै दिल्लीस्थित नेपालको दूतवासमा टाँगिएको फोटोमा त्यहाँ नेपालको बुच्चे नक्सा राखिएको छ, चुच्चे नक्सा हटाइएको छ । योभन्दा राष्ट्रिय दलाली र योभन्दा राष्ट्रको गौरव र शीर निहुर्‍याउने योभन्दा लज्जाजनक कुरा के हुन्छ ?

ओलीले प्रधानमन्त्री देउवाको दिल्ली भ्रमणको उद्देश्यको बारेमा समेत प्रश्न गर्नुभयो । ‘दिल्ली किन जानुभयो शेरबहादुरजी फर्किएर पछि सोधौंला भनेको थिएँ । यही राष्ट्रिय बेइमानीका लागि जान लाग्नु भएको हो ? के–का लागि जान लाग्नु भएको हो ?,’ ओलीले भन्नुभयो, ‘नेपाल फर्किनुभन्दा अघि दिल्ली दूतावासमा हाम्रो सरकारले संविधान संशोधन गरेर बनाएको नक्सा राखेर वा हटाएर फर्किनु हुन्छ ?’