दक्षिण अफ्रिकामा बाढी र पहिरो, ४४३ जनाको मृत्यु

 

केप टाउन । दक्षिणमा अफ्रिकामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ४४३ जनाको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएका छन्।

समाचार संस्था रोयटर्सका अनुसार क्वाजुलु(नातान प्रान्तमा बाढीले तबाही मच्चाएको हो।
उक्त प्रान्तमा केही दिनदेखि भारी वर्षा भएको थियो। बाढी र पहिरोमा परी लाखौं मानिस विस्थापित भएका छन् भने पानी र बिजुलीको आपूर्ति अवरूद्ध भएको छ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बाढी पहिरोका कारण साउदी अरबको भ्रमण पर सारेको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रान्तका प्रिमियर सिह्ले जिकालालाले उक्त क्षेत्रमा अहिलेसम्मकै धेरै पानी परेकाले बाढी, पहिरो आएको बताएका छन्।

मौसमविद्हरूले फेरि पानी पर्न सक्ने पूर्वानुमान गरेका छन्। फेरि पानी पर्ने कुराले आफन्त र घरबार गुमाएकाहरूमा चिन्ता थपिएको छ।