इस्लामावाद । पाकिस्तानमा ईशनिन्दाको आरोपमा एक श्रीलङ्काली पुरुषलाई भिडले पिटेर मारेको घटनामा छ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ।
सियालकोटस्थित एउटा कारखानामा प्रबन्धकका रूपमा कार्यरत ४८ वर्षीय प्रियन्त दियावादानागेको गत डिसेम्बर महिनामा आक्रमणकारीहरूले कुटीकुटी हत्या गरेका थिए। त्यसपछि उनको शरीर आगोमा जलाइदिएका थिए।
उक्त घटनामा कुल ८८ जनालाई दोषी ठहर गरिएको छ। तीमध्ये नौ जनालाई आजीवन कारावास र अरूलाई दुईदेखि पाँच वर्षको सजाय सुनाइएको छ।
उक्त घटनाले पूरै पाकिस्तान स्तब्ध भएको थियो। तात्कालीन प्रधानमन्त्री इमरान खानले घटना भएको दिनलाई “लज्जाको दिन” भनेका थिए।