रुस युक्रेन द्वन्द्वका कारण हंगेरीमा संकटकाल घोषणा

 

बुडापेस्ट । रुस र युक्रेनबीचको द्वन्द्वले असर पारेको भन्दै हंगेरीमा संकटकाल घोषणा गरिएको छ । नवनिर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले मंगलबार नयाँ सरकार गठनसँगै संकटकाल घोषणा गरेका हुन् ।
उनले घोषणा गरेको आदेश यही मे २४ को मध्यरातदेखि लागू हुने घोषणामा उल्लेख गरिएको छ ।

संकटकाल कार्यान्वयनका लागि राज्यका विभिन्न निकायहरू परिचालित हुने पनि उनले जानकारी दिए । रुस र युक्रेनबीचको द्वन्द्व निरन्तर चलिरहेकाले संकटकाल घोषणा गर्नु परेको प्रधानमन्त्री अर्वानको भनाइ छ ।

दुई देशको द्वन्द्वका कारण आर्थिक सङ्कट बढ्दै गएकाले आर्थिक संकट न्यूनिकरणका लागि संकटकालले सहयोग गर्ने हंगेरीको सरकारले आशा गरेको बताइएको छ ।

ती देशको द्वन्द्वका कारण विश्वका अरु पनि धेरै देशमा आर्थिक संकट उत्पन्न हुनुका साथै अभाव र महंगी सिर्जना भएको छ ।