पोखरामा आजदेखि राष्ट्रिय दोहोरी गीत प्रतियोगिता
कास्की : कास्कीको पोखरामा सर्वाधिक पुरस्कार राशि भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता आजदेखि सुरु भएको छ ।
कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले ‘लोकसंस्कृति जोगाऔं, हाम्रो चिनारी बचाआंै’ भन्ने नारासहित उक्त प्रतियोगिता गर्न लागेको हो । तीन दिनसम्म हुने उक्त प्रतियोगितामा देशभरबाट ४६ समूहको सहभागिता रहेको र सबै तयारी पूरा भएको कार्यक्रमका संयोजक जीवन दाहालले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने टोलीले रु ६ लाख, द्वितीय हुनेले रु चार लाख, तृतीय हुनेले रु दुई लाख तथा सान्त्वना हुने समूहले रु एक लाख पुरस्कार पाउनेछन् । उत्कृष्ट गायक, गायिका र अनुशासित समूहलाई रु ५० हजारका दरले पुरस्कार प्रदान गरिने दाहालले जानकारी दिनुभयो । कार्यक्रमबाट रु ५५ लाख आम्दानी हुने आयोजक संस्थाले जनाएको छ ।
एक समूहमा महिला र पुरुष एक/एक गरी दुई जना रहने र समूहको वाद्यवादनलगायत टोलीको व्यवस्था आयोजकलेनै गनुपर्ने छ । लोकगायक, स्रष्टा र शिल्पी कल्याण शेरचनको स्मरणमा उहाँको जन्मजयन्तीका अवसरमा प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर गुरुङले बताउनुभयो ।
प्रतियोगिताको प्रमुख उद्देश्य पोखरामा नेपाली लोकबाजा सङ्ग्रहालय निर्माण गर्नु रहेको छ ।