अमेरिकी सभामुख ताइवानबाट फर्किएलगत्तै चीनले सैन्य अभियान थाल्यो
एजेन्सी : ताइवान भ्रमणबाट अमेरिकी सभामुख न्यान्सी पेलोसी फर्किएलगत्तै चीनले ताइवानको सिमा वरपर सैन्य अभ्यास सुरू गरेको छ ।
पेलोसीको भ्रमणको प्रतिक्रिया स्वरूप चीनले ताइवानबाट १६ किलोमिटर मात्र टाढा रहेको समुद्र वरपर सैन्य अभ्यासको घोषणा गरेको बिबीसीले जनाएको छ । बिहीबारदेखि सुरू हुने पाँच दिने लामो अभ्यास विश्वका केही व्यस्त जलमार्गमा समेत हुनेछन् ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले ट्वीटमार्फत सैन्य अभियान सुरू गरेको जानकारी गराएका हुन् । उनले भनेका छन्, ‘पीएलए (चिनियाँ जनमुक्ति सेना)ले ताइवानको आसपास एक संयुक्त सैन्य अभियान सुरु गरेको छ । चीन आफ्नो सम्प्रभुता र क्षेत्रीय अखण्डताको रक्षा दृढताका साथ गर्दछ,’ ।
चीनको विरोधकाबीच आफ्नो छोटो भ्रमण सकेर अमेरिकी सभामुख न्यान्सी ताइवानबाट फर्किसकेकी छन् ।
पलोसीले राजधानी ताइपेईमा राष्ट्रपतिसहित शीर्ष नेताहरूसँग भेटवार्ता गरेकी थिइन्।
एउटा स्वशासित टापु ताइवानलाई चीनले आफ्नो भुभाग भएको दाबी गर्दै आएको छ।
यसैबीच चीनका विदेशमन्त्री वाङ यीले बुधबार एक विज्ञप्ति जारी गर्दै आगोसँग खेल्नेहरूको अन्त्य सुखद नहुने र चीनको अपमान गर्नेहरूले सजाय भोग्न पर्ने चेतावनी दिएका छन् ।
यसैबीच समाचार एजेन्सी एएफपीका अनुसार ताइवानले २७ वटा चिनियाँ लडाकु विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेको स्पष्ट पारेको छ । चिनियाँ लडाकु विमानलाई चेतावनी दिन आफूहरूले पनि लडाकु विमान उडाउनु परेको ताइवानले दाबी गरेको छ ।
ताइवानले जहाजहरूलाई अभ्यासबाट बच्न वैकल्पिक मार्गहरू खोज्न आग्रह गरेको छ । छिमेकी जापान र फिलिपिन्ससँग वैकल्पिक उड्डयन मार्गहरू खोज्न वार्तासमेत गरिरहेको बताएको छ ।
यसैबीच जी–७ देशहरुको समूहले चीनको सैन्य अभ्यास सुरू गर्नु जायज नभएको टिप्पणी गरेको बीबीसीले जनाएको छ ।