बाँकेको राप्तीसोनारीमा स्थानीय पाठ्यक्रम लागू
बाँके : बाँकेको राप्तीसोनारी गाउँपालिकाको ५४ विद्यालयमा आधारभूत तहको स्थानीय पाठ्यक्रम लागू भएको छ ।
पाठ्यक्रम निर्माण तथा लेखन समितिले तयार पारेको ‘हाम्रो राप्तीसोनारी’ नयाँ शैक्षिक सत्रदेखि लागू भएको गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले जानकारी दिनुभयो । पालिकाभित्रका कक्षा १ देखि ८ सम्मका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरिएको उल्लेख गर्दै गाउँपालिकाका अध्यक्ष पौडेलले आफूहरु निर्वाचित हुनुअघि नै उक्त पाठ्यक्रम तयार भएकाले त्यसलाई लागू गरिएको बताउनुभयो ।
पाठ्यक्रममा स्थानीय संस्कृति र सम्पदा, स्थानीय पेशा व्यवसाय र प्रविधि, स्थानीय वातावरण, स्थानीय राप्तीसोनारीको परिचय, खुसीका लागि शिक्षा, जीवनोपयोगी सीप र विपद् व्यवस्थापनसहित गाउँपालिकाको विशेषतालाई उच्च प्राथमिकता दिइएको अध्यक्ष पौडेल बताउनुहुन्छ ।
खास गरेर सात विषय समेटेर निर्माण गरिएको पाठ्यक्रम राप्तीसोनारीका सबै आधारभूत विद्यालयमा लागू गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले जानकारी दिनुभयो । कक्षा, ६, ७ र ८ को लागि पाठ्यपुस्तक बनाउने र आधारभूत तहका लागि स्रोत पुस्तकको रुपमा रहने बताइएको छ ।
पाठ्यक्रमले स्थानीय आवश्यकतालाई केन्द्रीत गरी आधारभूत तहमा अध्ययनरत बालबालिकालाई आफ्नो सामाजिक तथा वातावरणीय परिवेशबारे ज्ञान र सीप प्रदान गर्ने यसको लक्ष्य रहेको उल्लेख गर्नुभयो ।
पाठ्यक्रमले यस क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक पक्षलाई समेटेको छ । स्थानीयस्तरका विषयवस्तु समावेश गरी विद्यालयमा नियमित पठनपाठन गर्ने उद्देश्यले तयार गरिएको स्थानीय शैक्षिक सामग्री नै स्थानीय पाठ्यक्रम हो ।