मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ, सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसुरमा अनुसन्धान
भक्तपुर, १८ साउन । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गएराति भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको छ । सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याउन खोजेको अभियोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
शनिबार दिउँसो पत्रकार सम्मेलन गरी प्रसाईंले आन्दोलनको घोषणा गरेका थिए । सोही घोषणाको केही घण्टापछि राति करिब १० बजे जिल्ला प्रहरी कार्यालय भक्तपुरको टोलीले उनलाई पक्राउ गर्न मध्यपुर थिमि–निकोसेरास्थित निवास पुगेको थियो ।
भक्तपुरका प्रहरी उपरीक्षक (एसपी) सूर्य खड्काका अनुसार प्रसाईंलाई सार्वजनिक शान्ति सुरक्षा विरुद्धको कसुरमा अनुसन्धानका लागि हिरासतमा राखिएको छ । “सार्वजनिक शान्ति खलबल्याउने गतिविधि गरेको र थप उत्तेजना फैलाउन खोजेको देखिएकाले उनलाई नियन्त्रणमा लिइएको हो,” एसपी खड्काले भन्नुभयो ।
प्रहरीले प्रसाईंलाई आज जिल्ला अदालत भक्तपुरमा उपस्थित गराएर म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । विवादास्पद अभिव्यक्ति र आन्दोलनका कार्यक्रमका कारण प्रसाईं यसअघि पनि पटक–पटक पक्राउ पर्दै र छुट्दै आएका छन् । उनले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ऋण मिनाहा र व्यवस्था परिवर्तनको माग राख्दै अभियान सञ्चालन गर्दै आएका छन् ।