इन्डोनेसियामा यात्रुवाहक फेरिमा आगलागी : पाँच जनाको मृत्यु, ३९ जना बेपत्ता
एजेन्सी, १८ साउन । इन्डोनेसियाको जाभा टापु नजिकै समुद्रमा आइतबार एउटा यात्रुवाहक फेरिमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ३९ जना अझै बेपत्ता रहेका छन् भने २२७ जनाको जीवितै उद्धार गरिएको छ ।
इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार निकाय (बासारनास) का अनुसार ‘मुतियारा सेन्टोसा–२’ नामक फेरि पूर्वी जाभाको सुराबायाबाट दक्षिण सुलावेसीको मकासारतर्फ जाँदै गर्दा सुमेनेप जलक्षेत्रमा आगलागी भएको हो । फेरिमा २३२ यात्रु, ३९ चालक दलका सदस्य र १८१ वटा सवारीसाधन रहेका थिए ।
आगलागी भएलगत्तै फेरिबाट बाक्लो कालो धुवाँ निस्किएको र धेरै यात्रुहरूले ज्यान जोगाउन समुद्रमा हामफालेका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा लाइफ ज्याकेट लगाएका यात्रुहरू उद्धारको प्रतीक्षामा डेकमा भेला भएको देखिन्छ ।
सूचना प्राप्त हुनासाथ इन्डोनेसियाली नौसेनाले युद्धपोत परिचालन गरेको थियो भने आसपास रहेका कार्गो जहाज र टगबोटहरूले उद्धार कार्यमा सहयोग गरेका थिए । यद्यपि, खराब मौसम र समुद्रमा उठेका उच्च छालका कारण साना उद्धार डुङ्गाहरूलाई घटनास्थल पुग्न कठिन भएको थियो ।
उद्धार गरिएका यात्रु अहमद अब्दुल करिमका अनुसार तल्लो डेकमा रहेको एउटा ट्रकबाट आगो सुरु भएको थियो । तीव्र हावाका कारण ३० मिनेटभन्दा कम समयमै आगो जहाजको ठूलो भागमा फैलिएपछि यात्रुहरूमा रुवाबासी चलेको उनले बताए । सन् १९९२ मा जापानमा निर्माण भएको १६० मिटर लामो उक्त फेरि सन् २०१५ देखि इन्डोनेसियामा सञ्चालनमा थियो । यसअघि ‘फेरी ओसाका’ नामबाट जापानमा चल्ने यो जहाज हाल सुराबाया–मकासार रुटमा प्रयोग हुँदै आएको थियो ।
१७ हजारभन्दा बढी टापुहरू रहेको इन्डोनेसियामा जलयात्रा प्रमुख यातायातको माध्यम हो । तर, कमजोर सुरक्षा मापदण्ड र क्षमताभन्दा बढी भार बोक्ने प्रवृत्तिका कारण त्यहाँ बेलाबेलामा ठुला समुद्री दुर्घटना हुने गरेका छन् ।