नारायणगढ–मुग्लिन सडकको नाम्सी पुलमा पहिरो : सडक एकतर्फी, सावधानी अपनाउन आग्रह

चितवन, १८ साउन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको नाम्सी नयाँ पुलमा आज बिहान पहिरोसँगै ठूला ढुङ्गा खस्दा यातायात सेवा प्रभावित भएको छ । सडकमा पहिरो खसेपछि अहिले सो खण्डमा सवारी साधनहरू एकतर्फी मात्र सञ्चालन भइरहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी निरीक्षक अनिल थापाका अनुसार सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउने काम तत्काल सुरु गरिएको छ । उहाँले माथिबाट थप ढुङ्गा खस्ने क्रम रोकिएमा केही समयभित्रै सडक दुईतर्फी सञ्चालनमा ल्याइने जानकारी दिनुभयो ।

अहिले सडक एकतर्फी मात्र खुल्ला भएकाले सवारी साधनको लामो लाम लागेको छ । वर्षायाममा यस सडकखण्डका विभिन्न स्थानमा पटक–पटक पहिरो खस्ने जोखिम रहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन र सडकको अवस्थाबारे जानकारी लिएर मात्र गन्तव्यतर्फ लाग्न ट्राफिक प्रहरीले चालक तथा यात्रीहरूलाई आग्रह गरेको छ ।