श्रावणको तेस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौँ,  साउन १८ । चान्द्रमासअनुसार श्रावण महिनाको तेस्रो सोमबार आज काठमाडौँको पशुपतिनाथ मन्दिरलगायत मुलुकभरका शिवालयहरूमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ । बिहानैदेखि श्रद्धालुहरूको घुइँचो बढेपछि पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीको सहजताका लागि मन्दिरका चारै ढोका खुला गरेको छ ।

विशेषगरी ‘बोल बम’ यात्रीहरूको चापलाई मध्यनजर गर्दै कोषले छुट्टै विशेष व्यवस्था मिलाएको छ । मन्दिर प्रवेश गरी पूजा आराधना गर्न चाहने भक्तजनका लागि चारवटा छुट्टाछुट्टै लामको प्रबन्ध गरिएको छ, जसले गर्दा दर्शन प्रक्रिया व्यवस्थित बनेको छ ।

पशुपतिनाथका अतिरिक्त राजधानीका अन्य प्रमुख धार्मिक स्थलहरू गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर र वसन्तपुर दरबार क्षेत्रस्थित ‘सानो पशुपतिनाथ’ का रूपमा परिचित मक्खन महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको लामो ताँती लागेको छ । उपत्यकाका साना-ठूला सबै शिव मन्दिरहरूमा आज विशेष पूजाआजा र दर्शन गर्नेहरूको चहलपहल देखिएको छ ।