अज्ञात समूहको गोली प्रहारबाट रुपन्देहीमा एक युवक गम्भीर घाइते
रुपन्देही : रुपन्देहीको ओमसतियामा अज्ञात समूहको गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् ।
अज्ञात समूहको गोली प्रहारबाट गएराति करिब ११ बजे सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बस्ने ३१ वर्षीय विकास गुरुङ घाइते भएका हुन् ।
बायाँ कोखामा गोली लागेको गुरुङको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । गुरुङ सडकमा हिँडिरहेको समयमा मोटरसाइकलमा आएको तीन जनाको एक समूहले उनीमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
रोहिणी गाउँपालिका वडा नम्बर १ बाइपासस्थित सिद्धार्थ कटेजमा गोली प्रहार हुनुभन्दा आधा घण्टा अगाडि एक समूहले सुनका गरगहना र नगदसमेत लुटेर भागेकोले सोही समूहले गोली प्रहार गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
