पिपुल्स पावर लिमिटेडको आईपीओ मंगलबारदेखि निष्कासन
काठमाडौं : मंगलबारदेखि पिपुल्स पावर लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता साधारण सेयर निष्कासन बिक्री खुला गरेको छ । जसमध्ये २ प्रतिशत सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुमा सुरक्षित गरेको छ । बाँकी रहेको २२ लाख ९४ हजार ६८२ कित्ता सेयरका लागि सर्वसाधाणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा छिटोमा ५ भदौसम्म र उक्त अवधिमा माग अनुसारको आवेदन नपरेमा आवेदन दिने अवधि १४ भदौसम्म थप हुनेछ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।
