आजदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन र बिक्रीवितरण गर्न नपाइने
काठमाडौं : सरकारले आजदेखि पातलो प्लास्टिकको झोलामा रोक लगाएको छ ।
वन तथा वातावरण मन्त्रालय र वन विभागले साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध गर्ने नियमलाई कडाइका साथ लागू गर्ने भएको हो ।
यसअघि २०७२ साल वैशाख एक गतेदेखि लागू हुने गरी उक्त नियम बनाएको थियो । तर त्यही महिना बिनासकारी भूकम्प गएको कारण कार्यान्वयन हुन सकेको थिएन ।
मन्त्रालयले पहिलो चरणमा झोला उत्पादन गर्ने कम्पनी अनुगमन गर्ने छ ।
गत वर्ष साउन २८ मा सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रतिबन्ध लगाउन अन्तरिम आदेश दिए लगत्तै मन्त्रालयले सो सम्बन्धी निर्णय गरी कार्यविधि तयार गरेको थियो ।
