कालीगण्डकी गाउँपालिकामा २० युनिट बिजुली निःशुल्क

स्याङ्जा : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका प्रत्यक घरधुरीलाई २० युनिट बिजुली निःशुल्क उपलब्ध गराएको छ ।

गाउँपालिकाको बैठकले प्रत्येक घरधुरीले खपत गर्ने न्यूनतम २० युनिट बिजुली आफैले भुक्तानी गरिदिने निर्णयसंगै प्रत्यक घरधुरीलाई खपत हुने न्यूनतम २० युनिट बराबरको रकम भुक्तानी गर्दै आएको हो ।

‘गाउँपालिकाको मुख्य सडक र सबै घर उज्यालो कार्यक्रम’अन्तर्गत गाउँपालिकावासीलाई न्यूनतम २० युनिटसम्मको बिजुलीको महसुल आफैले ब्यहोर्दै आएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।

गाउँपालिकाले प्राधिकरणलाई हालसम्म चार हजार ६ सय १६ घरधुरीलाई २० युनिटसम्मको खर्च ब्यहोर्दै आएको छ । ‘आर्थिक अभावका कारण कोही पनि नागरिकले अँध्यारोमा बस्न नपरोस् भनेर अभियान चलाएका हौं’, अध्यक्ष थापाले भन्नुभयो, अभियानबाट अति विपन्न समुदायका नागरिक बढी लाभान्वित भएका छन् ।

न्यूनतम २० युनिटसम्मको महसुल गाउँपालिकाले ब्यहोर्ने भएपछि एक हजार दुई सयदेखि एक हजार पाँच सय परिवारले थप रकम भुक्तानी गर्नुपर्ने नदेखिएको अध्यक्ष थापाले बताउनुभयो । बीस युनिटभन्दा माथि खपत भएको बिजुलीको महसुल उपभोक्ता स्वयम्ले भुक्तानी गर्नुपर्ने छ ।

कालीगण्डकीले सातवटै वडाका प्रत्येक घरधुरीमा बिजुली पु¥याएको छ । एक सय ४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजना यही पालिकाको वडा नं ५, ६ र ७ मा पर्दछ । वडा नं ७ को मिर्मी बजारभन्दा केही तल बाँध बाँधेर जलाशय निर्माण गरी सुरुङमार्ग हुँदै वडा नं ५ को बेलटारीमा विद्युत् उत्पादन गृहमा पानी खसालिएको छ ।