जबरजस्त निगम : पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनी नघटाउने
काठमाडौं : नेपाल आयल निगमका अनुसार भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।
भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ९० पैसा, डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८० पैसा र हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटेर आएको निगमले बताइएको छ ।
पेट्रोलियम पदार्थको मूल्य तेस्रो पटक पनि घटेर आएको छ तर निगमले मूल्य नघटाउने निर्णयगरेको छ । मंगलबार पत्रकार सम्मेलनमा निगम अझै पनि घाटामा रहेको बताउँदै पेट्रोलियम पदार्थको मूल्य नघटाउने जानकारी दिएको हो ।
निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पछिल्लो ३ पटक मूल्य घटेर आए पनि पुरानो घाटा कम गर्न मूल्य नघटाएको बताए । उनले हाल निगमको कूल घाटा साढे ६२ अर्ब रुपैयाँ पुगेको जानकारी दिए ।
पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि निगमको घाटा भने झनै चुलिने भएको छ । नयाँ मूल्यसूचीअनुसार निगमलाई डिजेल र एलपीजी ग्यासको बिक्रीमा घाटा छ ।
यसअनुसार निगमले मासिक ६५ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने बताइएको छ । यस्तै, नेपाल सरकारले टेकुको जग्गा धितो राखेर दिएको ऋणको किस्तासमेत बुझाउनुपर्दा निगमको मासिक घाटा ७५ करोड रुपैयाँ पुग्ने देखिएको छ ।
