हराएको नागरिकता दुरुपयोग गरी ठगी गर्ने तीन पक्राउ
काठमाडौं : हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कञ्चरपुरका नीरज पाण्डेको हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर विभिन्न व्यक्तिलाई ठगी गर्ने तीन जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मध्यपुर ठिमी नगरपालिका–९ का सुरेश भन्ने २८ वर्षीय प्रदीप कर्मचार्य, मुगु खत्याड गाउँपालिका–११ घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका–२ बस्ने २४ वर्षीय विशाल कार्की र मुगु खत्याड गाउँपालिका–८ का २१ वर्षीय रामकृष्ण रावत रहेका छन् ।
पाण्डेको हराएको सक्कल नागरिकताको दुरुपयोग गरी विभिन्न कम्पनी खोलेर ठगी गरेकाले उनीहरुलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
पक्राउ व्यक्तिले विसं २०७८ मङ्सिर २८ गते ज्ञानेश्वरमा एभरेष्ट लिङ्क इन्टनेशनल एजुकेशन प्रालि नामको प्राइभेट कम्पनी दर्ता गरेको, सेञ्चुरी तथा कुमारी बैंकमा खाता खोलेको र वैदेशिक रोजगारीमा रसिया पठाइदिने प्रलोभनमा पारी पीडित व्यक्तिको नामबाटै ठगी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये प्रदीप उक्त कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) बनेको, विशालले पीडितको नाममा बैंकमा खाता खोलेको र रामकृष्णले सहजकर्ताको भूमिका खेल्दै आएको अनुसन्धानमा खुलेको छ । पक्राउ परेका उनीहरुलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रवक्ता कोइरालाले बताउनुभयो ।