प्रसूति गृह थापाथलीकाे ६४ औं वार्षिकोत्सवमा ‘ह्युमन मिल्क बैंक’ स्थापना

काठमाडौं : तथा प्रसूति रोग अस्पताल थापाथलीमा आमाको दूध भण्डारण गर्न मिल्ने ‘ह्युमन मिल्क बैंक’ स्थापना भएको छ । अस्पतालको ६४ औं वार्षिकोत्सवमा अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार देशकै पहिलो ह्युमन मिल्क बैंक ‘अमृत कोष’को उद्घाटन गरेकी हुन् ।

सुरुमा प्रसूति गृहमै जन्मिएका तर आमाको दूध नआएर वा अन्य कारणले आमाको दूध पाउन नसक्ने शिशुलाई दूध उपलब्ध गराउने उद्देश्यले अमृत कोषको स्थापना गरिएको अस्पतालका निर्देशक डा. अमिर बाबु श्रेष्ठले बताए । उनका अनुसार अघिल्लो वर्ष ‘ह्युमन मिल्क बैंक’ को स्थापना गर्ने अवधारणा ल्याएको थियो ।

‘बाल बालिकामैत्री स्वास्थ्य प्रणाली सुनिश्चित गर्नका लागि समय नपुगी जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुहरूलाई आवश्यकता परेको बेलामा अरू आमाहरूको दूध उपलब्ध गराउनेछौं,’ डा. श्रेष्ठले भने, ‘पहिला आमाहरुको दूध नआउँदा बट्टाको दूध प्रयोग गरिन्थो । तर, अब यसलाई हामीले पूर्ण निषेध गरेका छौं ।’

चिकित्सकका अनुसार बट्टाको दूध शिशुहरुको लागि कम स्वस्थ्यकर हुन्छ । स्तनपानले बच्चाको पहिलो खोपको रूपमा काम गर्ने र बाल्यकालका सामान्य रोगबाट बचाउने गर्छ ।

‘बच्चाको मृत्युदर र आमाको दूधसँग ठूलो सम्बन्ध छ । जुन शिशुले आमाको दूध खाएको शिशु बिरामी हुने सम्भावना थोरै हुन्छ । विभिन्न खालका संक्रमणबाट बच्चालाई जोगाउन समेत आमाको दूधको धेरै भूमिका हुन्छ ।

अस्पताललाई सरकारले ‘ह्युमन मिल्क बैंक’ स्थापनाका लागि गत वर्ष १ करोड ५ लाख बजेट पनि दिएको थियो ।

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा जन्मिएका शिशुमध्ये सीसीयूमा राखिएका ४० प्रतिशत जतिलाई दूधको आवश्यकता पर्ने अस्पतालकी नवजात शिशु विभागकी प्रमुख तथा बाल रोग विशेषज्ञ डा.कल्पना सुवेदी बताउँछिन् ।

बच्चाका लागि आमाको दूध नै सबैभन्दा उत्तम हो । कतिको आमाको दूध नै आउँदैन । नवजात सघन उपचार केन्द्र (सीसीयू) मा राख्नुपर्ने, कम तौल भएका शिशुलाई दूध दिन पर्ने भएकोले बैंक स्थापना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *