श्रीकृष्ण जन्माष्टमी व्रत रातभर जाग्राम बसी समापन गरियो

काठमाडौं : प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन गरिने ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत शुक्रबार रातभर जाग्राम बसेर समापन गरिएको छ ।

अष्टमीका दिन पूजा आराधना गरी रात्रिमा जाग्राम बसेपछि ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत समापन हुने विधि छ । वैदिक सनातन धर्मावलम्बीले भाद्र कृष्ण अष्टमीका दिन पूजा आराधना गरी देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरिएको थियो ।

देशभरका कृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यस दिन देशभरी कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला र पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बसेका हुन् ।

जन्माष्टमीका दिन पाटनको कृष्णमन्दिरलगायत देशभरका कृष्णमन्दिरमा भक्तजनको भीड लागेको थियो ।