मोरङमा पेस्तोल सहित दुई जना पक्राउ

मोरङ : मोरङमा पेस्तोल सहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका–८ हरिचन्द्रगढी बस्ने २९ वर्षीय आरिफ मियाँ र उर्लाबारी नगरपालिका–६ तरुण टोल बस्ने २९ वर्षीय नविन धिमाल रहेका छन् ।

प्रहरीले मियाँको साथबाट अटोमेटिक चाईनिज पेस्तोल एक थान, म्याग्जिन एक थान, ७.०५ एमएम राउण्ड एक थान र सिक्सर पेस्तोल एक थान बरामद गरेकोे जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सिक्टीबाट खटिएको टोलीले को.२७ प ४०६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा आरिफको कम्मरमा लुकाई ल्याएको उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो ।

थप सोधपुछको क्रममा ती हतियारहरू उर्लाबारी नगरपालिका–६ तरुण टोल बस्ने धिमालले मगाएको खुल्न आएपछि प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले उनलाई रतुवामाई नगरपालिका–८ डाम्राभिट्टाबाट पक्राउ गरेको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *