जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ९ र १० मा राति जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।

तीन वटा हात्ती रातका समयमा बस्तीमा प्रवेश गरेपछि स्थानीय रातभर जाग्राम बस्नुपरेको थियो । कमलामाई नगर उपप्रमुख मञ्जु देवकोटाले राति जङ्गली हात्ती देखिएपछि स्थानीयवासीलाई सुरक्षित भएर बस्न र संयमित हुन आग्रह गरिएको बताउनुभयो ।

ती हात्ती राति १० बजे कमलामाई– ९ काउछे, अमाहा हुँदै कमलामाई –१० तर्फ लागेको जनाइएकोे छ । सो क्षेत्रमा हरेक वर्षको हिउँद महिनामा जङ्गली हात्ती देखापर्ने गरेका छन् । तर यस वर्ष चाँडै नै हात्ती गाउँमा प्रवेश गरेको उहाँको भनाइ छ ।

यसअघि पनि जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गरी घर भत्काउने, अन्नपात खाने, नष्ट गर्ने गरेको जनाउँदै हात्ती देखिए प्रहरीलाई खबर गर्न र संयमित रही सुरक्षित भएर बस्न नगरउपप्रमुख देवकोटाले आग्रह गर्नुभयो ।

राति जङ्गली हात्ती निस्किएको प्रहरीलाई खबर भएपछि प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हात्तीका कारण मानव बस्ती असुरक्षित भएको जनाउँदै समस्याको समाधान गर्न स्थानीयले वर्षौंदेखि माग गर्दै आएका छन् ।