विद्यालयको निःशुल्क दिवा खाजाले ३२ विद्यार्थी बिरामी

झापा : काँकडभिट्टा माध्यमिक विद्यालयको निःशुल्क दिवा खाजा खाएका ३२ विद्यार्थी एकैचोटी बिरामी भएका छन् । विद्यालयको क्यान्टिनमा बनाइएको छोलामुरी खाजा खाएलगत्तै कक्षा एकदेखि छ सम्मका विद्यार्थी बिरामी भएका थिए ।

खाजा खाएकामध्ये २६ जना विद्यार्थीलाई उपचारका लागि भद्रपुरस्थित मेची अस्पतालमा भर्ना गरेको विद्यालयकी शिक्षिका सुभद्रा अर्यालले बताउनुभयो । विद्यार्थी बिरामी भएपछि खाजा खुवाउने विद्यालय क्यान्टिनका सञ्चालक नारायण विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्यान्टिनले दिएको खाजा विषाक्त भएको विद्यालय र प्रहरीको ठहर छ ।

खाजा खाएका ती विद्यार्थीलाई ‘फुड पोइजन’ भएको अस्पतालका चिकित्सकले जनाए ।
काँकडभिट्टास्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले क्यान्टिन सञ्चालक विष्टलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको बताउनुभयो । ‘क्यान्टिनका सञ्चालकलाई सोधपुछ गरेका छौं’, उहाँले भन्नुभयो, ‘बिहीबार बिहानै पकाइएको खाजा दिउँसो विद्यार्थीलाई खान दिइएको रहेछ । गर्मी याममा बिहानको खाजा दिउँसोसम्ममा अमिलिएर विषाक्त भइसकेको ख्याल नगरी लापर्बाही गरेको पाइयो ।’

विद्यालयका निमित्त प्रधानाध्यापक हरिप्रसाद न्यौपानेले क्यान्टिनले लापर्बाही गरेको विषयमा छानबिन गरिने जानकारी दिनुभयो । घटनापछि सो क्यान्टिन बन्द गरिएको छ भने क्यान्टिनका खानेकुराको नमूना गुणस्तर जाँचका लागि सम्बन्धित निकायमा पठाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानी केरुङले जानकारी दिनुभयो । विद्यालयकै क्यान्टिनको खाजा विषाक्त भएको घटनाप्रति स्थानीय अभिभावक आक्रोशित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *