कञ्चनपुर भन्सार नाकामा छैन विषादी परीक्षण प्रयोगशाला

कञ्चनपुर : कञ्चनपुरको भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ ।

भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो । भन्सारका कर्मचारी विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ ।

कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गनुपर्ने भए पनि प्रयोगशाला र प्राविधिक नहुँदा परीक्षणका लागि ४२ किलोमिटर टाढा अत्तरिया जानुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार विषादी परीक्षणका लागि नमूना पठाए पनि रिपोर्ट आउन एक÷दुई दिनसम्म समय लाग्ने गरेको छ । ‘विषादी परीक्षणका लागि न प्रयोगशाला छ न प्राविधिक नै छन् ।’ उहाँले भन्नुभयो, ‘रिपोर्ट आउन कम्तीमा एक दिन लाग्छ छिटो भयो भने बिहान आएको गाडी साँझसम्म पठाउँछौं ।’ उहाँले अत्तरिया प्रयोगशालामा पनि प्राविधिक कम भएका कारण कहिलेकाहीं समय बढी लाग्ने गरेको बताउनुभयो ।

रिपोर्ट आउन समय लाग्दा भारतबाट आएका तरकारीका गाडी एक–दुई दिन नाकामै रोकिनुपर्ने बाध्यता छ ।

सब्जीमण्डी व्यवसायी समितिका अध्यक्ष विशाल सुनारले भन्सार कार्यालयले भारतबाट आउने तरकारी परीक्षणमा कडाइ गनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘भन्सार कार्यालयमा प्रयोगशाला हुन जरुरी छ विषादी परीक्षण नगरी तरकारी आयात हुन दिनुहुँदैन । उहाँले गड्डाचौकी भन्सार कार्यालयमा प्रयोगशाला भए व्यवसायीलाई सहज हुने बताउनुभयो ।

पछिल्लो केही वर्षयता कञ्चनपुरमा भारतबाट आउने तरकारीमा कमी आएको छ । अहिले डडेल्धुराबाट तरकारी आयात हुने गरेकोले आलु र प्याज मात्रै भारतबाट आउने गरेको छ ।