इराकमा हिंसात्मक प्रदर्शनमा २० जनाको मृत्यु, प्रदर्शनकारी द्वारा राष्ट्रपति भवन कब्जा
एजेन्सी : इराकमा हिंसात्मक प्रदर्शनका कारण २० जनाको मृत्यु भएको छ भने प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।
इराकका धर्मगुरु मुक्तदा अल–सद्रले राजनीति परित्याग गर्ने घोषणा गरेसँगै हिंसात्मक प्रदर्शन बढेको हो ।
शिया धर्मगुरु मुक्तदा अल–सद्रले हिंसा र हतियारको प्रयोग बन्द नभएसम्म अनशन बस्ने घोषणा गरेका छन् । प्रदर्शन रोक्न सेनाले लगाएको कर्फ्यू तोड्दै अल–सद्रका समर्थकहरू सडकमा उत्रिएका हुन् । सो क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको हो ।
हजारौं प्रदर्शनकारीहरुले राष्ट्रपति भवनमा हमला गरेका कारण प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा कम्तिमा २० जनाको मृत्यु भएको अलजजिराले जनाएको छ । गोली चलाउँदा सयौं घाइते भएका छन् ।
इराकमा अल–सद्रका समर्थकहरू र उनीहरूको राजनीतिक प्रतिद्वन्द्वी इरान समर्थित शिया समूहबीच लामो समयदेखि द्वन्द्व चलिरहेको छ ।
यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इराकमा जारी प्रदर्शनप्रति चिन्ता व्यक्त गरेका छन् ।
