यःसिंको लागि रुख काटियो, तानेर काठमाडौं ल्याइँदै

काठमाडौं : इन्द्रजात्रामा उठाइने इन्द्रध्वज (यःसिं) को लागि रुख काट्ने कार्य सकिएको छ । नालाको यःसिंगुँमा काटिएको उक्त रुख आज तानेर काठमाडौंतिर ल्याइरहेको छ ।

रुख काट्ने कार्य केन्द्रीय मानन्धर संघको पहलमा हिजो शुरु भएको थियो । मानन्धर संघका सचिव गजेन्द्र मानन्धरका अनुसार हिजो काटिएको रुख आजदेखि काठमाडौतिर तानेर ल्याइरहेको छ भने भोलिसम्ममा भोटाहिटी पुग्ने सम्भावना छ ।

नालाको यःसिंगुँमा रुख काट्नु अघि विशेष पूजाआजा गर्नुको साथै गुर्जुको पल्टनले तोप पड्काई सलामी पनि चढाएको थियो । साथै काटिने रुखलाई कालो बोकाको बलि पनि दिइएको थियो । उक्त बोकाको मासु फर्काउन नहुने मान्यता रहेकाले त्यसलाई त्यहीं पकाएर खाने गरिन्छ ।

यस्तो पूजा गर्ने कार्य पहिले पहिले दरवारबाट गर्ने चलन थियो भने अहिले नेपाली सेनाको शार्दूलजंग गुल्मले गर्दैं आएको छ ।

काटिसके पछि यो रुखलाई नालादेखि तानेर हनुमानढोकासम्म ल्याउनुपर्ने चलन रहँदै आएको छ । यसलाई गाडीमा राखेर ल्याइँदैन ।

भोटाहिटी पुगेपछि यसलाई चार दिनसम्म त्यहीं राख्ने गरिन्छ । भोटाहिटीमा इन्द्रजात्राको यःसिं राख्ने ठाउँमा एउटा प्रस्तरको मण्डप पनि बनाइएको छ । भोटाहिटी ल्याइ पुर्याएको चारौं दिनमा काया अष्टमिका दिन भोटाहिटीबाट तानेर यःसिंलाई हनुमानढोका पुर्याइन्छ ।

श्रावणशुक्ल द्वादशिका दिन हनुमानढोकामा इन्द्रध्वज उठाइन्छ । यो वर्ष भाद्र २२ गते विहान ७ः१७ बजे इन्द्रध्वज–यःसिं उठाउने साइत निकालिएको छ ।

केन्द्रीय मानन्धर संघको पहलमा यःसिं उठाइसकेपछि यो वर्षको इन्द्रजात्रा विधिवत् रुपमा शुरु भएको मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *