दुई थान भरुवा बन्दुकसहित एकजना पक्राउ

लमजुङ : लमजुङमा प्रहरीले दुई थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

क्व्होँलासोथर गाउँपालिका–८ घाम्राङ घर भई हाल वडा नं ९ साल्मे बस्ने २७ वर्षीय यमबहादुर रानामगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले बताउनुभयो ।

रानामगरले अवैधरूपमा हतियार लुकाइछिपाइ राखेको तथा स्थानीयवासिन्दालाई धाकधम्की दिने गरेको प्रहरीबाट खुल्न आउको छ । उनलाई मङ्गलबार एक थान लोड गरेको र एक थान लोड नगरेको बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

रानामगरलाई लमजुङ जिल्ला अदालतबाट हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा बुधबार सात दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सङ्घ तथा प्रदेशको निर्वाचन नजिकिएसँगै अवैधरूपमा राखिएका हातहतियारबाट हुनसक्ने घटनालाई रोक्न सक्रिय रुपमा लागेको प्रहरीले बताएको छ ।