कमैया मुक्त भए पनि विकासको मूलधारबाट अझै बाहिर
बर्दिया : बर्दियामा मुक्त कमैयाको विकास मूलधारमा आएको छैन । लामो समयदेखि मुक्त कमैया घोषणा भएर पनि मुक्त कमैया विकासको मूलधार भने आउन सकेको छैन ।
जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकाका सरकारले पुनःस्थापना गर्दा पनि स्थानीय सरकारको नीति तथा बजेटको साथ नपाउँदा उनीहरुले सास्ती झेल्नु परेको छ ।
राजापुर नगरपालिका –८ का वडाध्यक्षले हालसम्म पनि मुक्त कमैयाले परिचयपत्र नपाएको र यस विषयलाई गुनासोको रुपमा उठाउनुभन्दा समाधानतिर लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
त्यस्तै, बढैयाताल नगरपालिका अध्यक्षले यस वर्ष नीति तथा कार्यक्रम समयमा ल्याउन नसकेको जानकारी दिँदैं मुक्त कमैयालाई निःशुल्क बिमा र प्याकेजमा सहयोग गर्ने कार्यक्रम पारित गरेका छन् । साथै, वडा नं ९ मा आउँदो हिउँदे अधिवेशनसम्म भिन्दै नीति, कार्यक्रम र बजेट ल्याइने उनले बताइएका छन् ।
एक तथ्याङ्क अनुुसार बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जस्ता स्थानमा २०५७ र २०६० मा मुक्त कमैयाको संख्या ३२ हजार पाँच सय ९ रहेको थियो ।
