सामाजिक सञ्जालको ‘पोस्ट’ले साउदी अरबका एक महिलालाई पैतालीस वर्ष जेल
एजेन्सी : साउदी अरबको एउटा अदालतले एकजना महिलालाई सामाजिक सञ्जालको प्रयोगबाट देशलाई हानी पुर्याएको आरोपमा ४५ वर्षको जेल सजाय सुनाएको छ । साउदीमा महिलालाई यस्तो सजाय सुनाइएको यो दोस्रो घटना हो ।
सामाजिक सञ्जालमा पोस्ट गरिएको सामग्रीले देशको समाजिक एकतामा बाधा पुर्याएको आरोपमा साउदी अरबको सबैभन्दा ठूला जनजाति समूहकी महिला नोराह बिन्त सईद अल–काहतानीलाई ४५ वर्षको काराबासको सजाय सुनाइएको फक्स न्यूजले जनाएको छ ।
अल–काहतानीले अनलाइनमा के पोस्ट गरे वा उनको सुनुवाई कहाँ भयो भन्ने बारेमा भने केही खुलाइएको छैन । उनले केवल आफ्नो विचार ट्वीट गरेकी थिइन् ।
यसअघि पनि एक जना ३४ वर्षीया महिलालाई ट्वीट गरेको अभियोगमा जेल सजाय सुनाइएको थियो । उक्त घटनालाई लिएर अन्तर्राष्ट्रियस्तरमा विरोध भएको थियो ।
