चलचित्र प्रेमगीत ३ को ट्रेलर रिलिज
काठमाडौं : नेपाली चलचित्र ‘प्रेमगीत ३’ को हिन्दी संस्करणको ट्रेलर रिलिज भएको छ । जी म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको २ मिनेट लामो ट्रेलरमा लडाइँ र प्रेमका दुई आयामलाई चित्रण गरिएको छ ।
‘प्रेमगीत’को तेस्रो श्रृंखला राजयोग र प्रेमयोगबीचको द्वन्द्व रहेको चलचित्र हो । राजयोगमा जन्मिएको प्रेम नामक पात्रको जीवनमा गीत नामक युवतीको प्रवेश भएपछि आउने नयाँ मोड फिल्मको केन्द्रीय द्वन्द्व हो ।
‘प्रेमगीत’का अघिल्ला दुई श्रृंखलाको केन्द्रमा सत्ताको विषयवस्तु नभएकोले यस चलचित्रको ट्रेलरमा केही नयाँ चरित्रले प्रवेश पाएका छन् भने द्वन्द्व र रोमान्सलाई पनि सन्तुलन मिलाइएको छ ।
‘प्रेमगीत ३’ को हिन्दी संस्करणलाई दशैंमा रिलिजको तयारी गरिएको छ ।
चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, सुनिल थापा, शिव श्रेष्ठ लगायतको प्रमुख भूमिका रहेकाे छ । फिल्मको हिन्दी संस्करणलाई नेपाल र भारतको संयुक्त प्रोजेक्ट बताइएको हाे ।