अपूर्व सिंहलाई क्षमा कि कारवाही ? अभियन्ताबीच देखियो फरक बिचार

काठमाडाैं : नेवाः समुदायको भाषा, कला, संस्कृति र संस्कारमाथि व्यंग्य गरी कार्यक्रम चलाएको भन्ने आरोप लागेका कमेडियन अपूर्व क्षितिज सिंहमाथि कारवाही गर्नुपर्छ भनी आन्दोलनमा उत्रेका नेवाः अभियन्ताहरु बीच फाटो आएको हो ?

अहिले उक्त आन्दोलनमा सक्रिय रहेका अभियन्ताहरुले सामाजिक सञ्जालमा पोष्ट गरेका निजी टिप्पणीहरु हेर्दा त्यस्तो संकेत देखिएको हो ।

आन्दोलनमा सक्रिय रहेका एक अभियन्ताका अनुसार हाल प्रहरी हिरासतमा रहेका कमेडियन सिंहलाई क्षमा दिई छोड्नुपर्छ वा कानुनी कारवाही गर्नुपर्छ भन्ने दुई विचार आएका कारण थोरै समस्या देखा परेको छ । सामाजिक सञ्जालमा त्यसैको संकेत आइरहेको हो ।

कमेडियन सिंहका बुबाले केही दिन अघि आन्दोलनरत अभियन्ताहरुलाई भेटेर छोरा छुटाइदिन अनुरोध गरेका थिए । त्यसपछि सिंहलाई क्षमा दिई छोड्नुपर्छ वा कानुनी कारवाही गर्नुपर्छ भन्ने दुईथरि विचार सार्वजनिक हुन थालेको हो ।

एक विशिष्ट सूत्रका अनुसार गायक योगेश्वर अमात्यले कमेडियन सिंहलाई आफ्नो प्रस्तुतीकै कारण प्रहरी हिरासतमा राख्नुहुन्न भन्ने सार्वजनिक अभिव्यक्ति दिएपछि अभियन्ताहरुबीच पनि हिरासतमा राख्नुपर्छ वा राख्नुहुन्न भन्ने दुई मत देखा परेको हो ।

गायक अमात्यले कमेडियन सिंहलाई क्षमादान गरी नेवाः समुदायले विशाल हृदयको नमूना प्रस्तुत गर्नुपर्छ भनेर अपील गरेका थिए ।

तर कमेडियन सिंहले सिङ्गो नेवाः समुदायकै अपमान गरेका कारण एक दुई जना नेवाः अभियन्ताले भन्दैमा उनलाई क्षमा दिनु हुँदैन भन्नेहरुको समूह पनि ठूलै रहेको छ ।

यस विषयमा पहल गरिरहेका नेवाः समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र वज्राचार्य भन्छन्, ‘क्षमा गर्नुपर्छ भन्ने कुरा पनि आएको छ । तर उजुरी नै गइसकेका कारण यसलाई प्रक्रियागत ढंगले नै समाधान गर्नुपर्छ भनेर पनि दबाब आइरहेको छ । १०३ जनाले उजुरी हालेको छ । १०–१२ जनाले नाम फिर्ता लिँदैमा त्यो रोकिन्न ।’

यो विषयमा अहिले कानूनविद्हरुले पनि काम गरिरहेका कारण केही दिन पर्खेर हेर्नु नै उचित हुने उनको राय छ । सिंह विरुद्धको आक्रोश अझै कायम रहेका कारण उनलाई केही दिन हिरासतमा राख्नु सुरक्षित पनि हुने सुझाव वज्राचार्यले सिंहका अभिभावकहरुलाई दिएका छन् ।

प्रहरीले थप कारवाहीका लागि सिंहलाई ७ दिन हिरासतमा राख्ने अनुमति लिइसकेको छ । यो मुद्दामा अब प्रहरीले जस्तो रिपोर्ट बनाउँछ कारवाही पनि त्यसरी नै अघि बढ्ने वज्राचार्य बताउँछन् ।

सिंहलाई सामाजिक सद्भाव खलल पुर्याएको भन्ने आरोपमा मुद्दा चल्न सक्ने बताइएको छ ।