हत्या प्रयासबाट जाेगिइन् अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना
एजेन्सी : अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजकाे हत्या प्रयास भएकाे छ । उनीमाथि बन्दुक प्रहार गरेर हत्या प्रयास भएकाे प्रहरीले जनाएको छ ।
प्रहरीले उपराष्ट्रपति फर्नान्डेजमाथि बन्दुक प्रहार गरेर हत्या प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
बीबीसीले उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेट डे किर्चनर घरबाहिर समर्थकहरूलाई अभिवादन गरिरहेकी बेला भीडबाट निस्किएको एक व्यक्तिले उनको अनुहार ताकेर हातेबन्दुक देखाएको जनाएको छ ।
राष्ट्रपति अल्बर्टो फर्नान्डेजले बन्दुकमा पाँचवटा गोली भरिएको तर चलाउँदा गोली लाग्न असफल भएको बताएका छन् ।
अर्जेन्टिनाका सुरक्षामन्त्री अगुस्टिन रोसीले स्थानीय समाचार च्यानल सीफाइभएन लाई घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
फर्नान्डेजले राष्ट्रलाई सम्बोधन गर्दै आक्रमणकारीको निन्दा गरेका छन् ।
