प्रधानमन्त्री देउवाले शङ्करदेव क्याम्पसलाई थप जग्गाको व्यवस्था गर्ने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थापन सङ्कायमा त्रिभुवन विश्वविद्यालयकै उत्कृष्ट बनेको शङ्करदेव क्याम्पसको पूर्वाधार विकासमा थप जग्गाको व्यवस्था गरिदिने प्रतिबद्धता जनाएका छन् ।

भूकम्पले क्षतिग्रस्त बनाएको क्याम्पसको पुनः निर्मित भवन उद्घाटन गर्दै उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषद्सँग सल्लाह गरेर क्याम्पसअघि रहेको जग्गा उपलब्ध गराउन सहयोग गर्ने बताएका हुन् ।

दक्ष जनशक्ति निर्माणका लागि गुणस्तरीय शिक्षाको आवश्यकता रहेको उल्लेख गर्दै उनले त्यसका लागि आवश्यक पूर्वाधार विकासमा पनि सरकारले सहयोग गर्ने बताएका छन् ।

क्याम्पसबाट उत्पादित जनशक्तिले अहिले पनि उद्योग र वाणिज्य प्रशासनका साथै राजनीतिक क्षेत्रमा पनि योगदान पुर्याएका छन् भन्दै उनले थप गुणस्तरीय जनशक्ति निर्माणका लागि क्याम्पसले पहल गरेमा आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।