नागढुङ्गाबाट लागूऔषध सहित एकजना पक्राउ

काठमाडौं : प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट लागूऔषध नाईट्राभेट ८ सय ९७ ट्याब्लेट, डाईजेपाम ५२ एम्पुल, बुप्रेनोर्फिन ५२ एम्पुल र फेनारगन ५२ एम्पुल सहित सिरहा लक्ष्मिपुर पतारी गाउँपालिका–५ बस्ने २६ वर्षीय प्रगास यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले सिरहाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख ८०८९ नम्बरको बसमा चेकजाँच गर्ने क्रममा प्रगासलाई झोलामा लुकाई ल्याएको अवस्थामा उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।