‘निलम्बित प्रधानन्यायाधीश जबराले नाम किटेका व्यक्तिहरुलाई समितिमा बोलाएर भनाइ राख्ने मौका दिनुपर्छ’

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संसदको महाभियोग समिति समक्ष दिएको बयानले मुलुकको समग्र न्याय क्षेत्रकै मर्यादा र स्वच्छतामाथि प्रश्न उठाइदिएको छ । उनको बयानबारे विभिन्न प्रकारका सार्वजनिक टीकाटिप्पणीहरु भइरहेका छन् भने उहाँले नामै किटेर आरोप लगाएका व्यक्तिहरुका हकमा अब कस्तो कारवाही होला भन्ने आम जिज्ञासा पनि उत्पन्न भएको छ ।

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले निलम्बित प्रधानन्यायाधीश जबराले आफ्नो बयानका क्रममा जति पनि व्यक्तिहरुको नाम लिनुभएको छ । उनीहरुले चाहेमा संसदको महाभियोग समितिमै उनीहरुलाई प्रतिवादको अवसर दिनुपर्ने बताउनु भएको छ । जबराले नाम लिएका व्यक्तिहरुउपर पनि छानबिन वा बयान लिनुपर्ने हुन्छ कि भन्ने ‘मैत्री न्युज’ को जिज्ञासामा उहाँले भन्नुभयो, ‘छानबिन होइन, उहाँहरुलाई पनि समितिमै आएर आफ्नो भनाइ राख्ने मौका दिइयो भने त्यो प्राकृतिक न्यायको सिद्धान्त अनुकुल हुनेछ ।’

त्यस्तै नेपाल प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनका अध्यक्ष भोजराज आचार्यले पनि निलम्बित प्रधानन्यायाधीश जबराले नाम किटेका व्यक्तिहरुलाई संसदको यही समितिले सफाइको मौका दिनुपर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो– ‘उहाँहरुलाई या त समितिले बोलाएरै सफाइ दिन लगाउन सक्छन् । वा उहाँहरुले समितिमै आएर आफ्नो सफाइ दिन चाहनुभयो भने त्यो अवसर समितिले दिनुपर्ने हुन्छ ।’

‘प्रधानन्यायाधीश जस्तो मान्छेले त्यस्तो गम्भीर आरोप लगाएपछि या त त्यो खण्डित हुनुपर्छ, या त पुस्टि हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘त्यसै रह्यो भने धेरै वर्षसम्म पनि त्यसले एउटा संशयको प्रश्न राखिराख्ने भयो ।’

आरोप जबराले लगाएका कारण त्यसको पुस्टि गर्ने दायित्व जबरामा हुन्छ कि हुँदैन भन्ने प्रश्नमा आचार्यले भन्नुभयो, ‘आरोप लगाएपछि त्यसलाई प्रमाणित गर्ने आधार के के छ भनेर समितिले अस्ति नै पनि सोध्न सक्थ्यो । वा पछि पनि सोध्न सक्छ ।’

जबराले दिएको यही बयानको आधारमा संसदको महाभियोग समितिले अन्य व्यक्तिमाथि छानबिन गर्न भने नसक्ने अध्यक्ष आचार्यले बताउनुभयो । ‘जुन व्यक्तिमाथि छानबिन गर्न समिति बनेको हो त्यसले त्यही व्यक्तिमाथि मात्रै छानबिन गर्न पाइन्छ, अरुबारे बोल्न पाइँदैन,’ उहाँले भन्नुभयो।

त्यस्तै संसदको कुनै समितिमा दिएको बयानका आधारमा कसैमाथि मानहानी मुद्दा नलाग्ने वरिष्ठ अधिवक्ता भट्टराईले बताउनुभयो । ‘पार्लियामेन्ट्री सिस्टममा संसदमा सांसदहरुले बोलेको कुरामा मुद्दा पनि लाग्दैन, मानहानी पनि लाग्दैन । तर गैर सांसदले बोलेको कुरामा यदि अदालतको अवहेलना भएको छ भने अवहेलनाको उजुरी चाहिँ लाग्छ,’ उहाँले भन्नुभयो ।
बयानका क्रममा निलम्बित प्रधानन्याधीश जबराले बोलेका कुराहरुले अदालतको अवहेलना भएको दावी पनि उहाँले गर्नुभयो ।

‘उहाँले बयानमा प्रयोग गर्नुभएका शब्दहरु अशिष्ट र अमर्यादित छन् । न्यायाधीशलाई माननीयसम्म भन्नुभएन, मिस्टर भनेर संवोधन गर्नुभयो । यो अदालतको अवहेलना हो । यदि कसैले यही कुरामा निवेदन लिएर अदालत गयो भने अदालतले त्यसको व्याख्या गर्नुपर्ने हुन्छ’ उहाँले भन्नुभयो । अध्यक्ष आचार्यले भने जबराको हाल जारी बयानले नेपालको न्याय क्षेत्र भद्रगोल छ भनेर आफूहरुले भन्दै आएको कुरा प्रमाणित भएको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘न्याय क्षेत्र भद्रगोल छ भनेर हामीले भनिरहेकै थियौँ, त्यो अहिले छरपस्ट भएको छ । न्याय क्षेत्रको बेथिति भित्र भित्रै गुम्सिएर बसेको थियो, अहिले त्यो प्रकट भएको छ । उहाँले त बयानमा केही मात्रै बताउनुभएको छ, अरु धेरै कुरा त आउनै बाँकी छ ।’ उहाँले बेथिति हटाउने अब एउटै मात्र उपाय न्याय क्षेत्रको पुनर्संरचना भएको बताउनुभयो। ‘हामीले भन्दै आएका थियौं, अब त्यो पुनर्संरचना नगरी नहुने पनि प्रमाणित भयो,’ अध्यक्ष आचार्यले भन्नभयो ।

संसदको महाभियोग समितिमा निलम्बित प्रधानन्यायाधीश जबराको बयान जारी नै रहेको छ । उनको लागि ४३ वटा प्रश्न तयार गरिएकोमा आजसम्म ६ वटाको मात्रै जवाफ आएको छ । उनको अर्को बयान भदौ १९ गते लिने समय तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *