हावाहुरीले उत्तरी गोरखाका विद्यालय र घरका छाना उडायो

काठमाडौँ, मंसिर ८ । उत्तरी गोरखाको धार्चे गाउँपालिका ५ सिङ्लामा सोमबार बिहान चलेको हावाहुरीले विद्यालयसहित केही घर तथा गोठका छाना उडाएको छ । हावाहुरीका कारण सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छानामा क्षति पुगेको स्थानीयले बताएका छन् । स्थानीय शिक्षिका सपना गुरुङका अनुसार हावाहुरीले विद्यालयको जस्तापाता उडाएको छ ।

हुरीले कच्ची संरचनामा बनेका केही घर तथा गोठका छानासमेत उडाएको उहाँले जानकारी दिनुभयो । हावाहुरीका कारण जङ्गलका पातपतिङ्गर उडेर गाउँभरि थुप्रिएका छन् ।

स्थानीयका अनुसार आकाश खुला रहेर घाम लागिरहेको अवस्थामा पनि तीव्र गतिमा हावा चलिरहेको छ । मौसममा बादल नलागे पनि हावाहुरी चल्ने क्रम जारी रहेको शिक्षिका गुरुङले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *