सकिमिला पुन्हि : नेवार सभ्यता, कृषि संस्कृति र ऐतिहासिक परम्पराको पर्व

अन्नबालीबाट कलाकृति निर्माण, दाफा भजन र परम्परागत परिकारमार्फत प्रकृति, श्रम तथा मौलिक संस्कृतिप्रति कृतज्ञता प्रकट गर्ने पर्व।

काठमाडौँ, मंसिर ८ । नेवार समुदायले मनाउने विशेष पूर्णिमामध्ये एक हो, सकिमिला पुन्हि। प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमा (नेपाल सम्वत् कछलाथ्व पुन्हि)का दिन मनाइने यस पर्वको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व रहेको छ। नेपालभाषाका ‘सकि’ र ‘मना’ दुई शब्द मिलेर बनेको सकिमना शब्दमा ‘सकि’ भन्नाले पिँडालु र ‘मना’ भन्नाले उसिन्नु भन्ने अर्थ लाग्छ। यस दिन पिँडालु उसिनेर खाने परम्परा रहेकाले यस पूर्णिमालाई सकिमना पुन्हि पनि भनिन्छ।

विशेषगरी जाडोयाममा तरकारीको उपलब्धता कम हुने भएकाले जमिनमुनि फल्ने कन्दमूल तथा विभिन्न अन्नबालीको उपभोग गर्नुपर्छ भन्ने सन्देश पनि यस पर्वले दिने गरेको छ। पिँडालु, तरुल, सखरखण्डलगायतका कन्दमूल उसिनेर खाने र मकै, गहुँ, भटमास, केराउलगायतका अन्न तथा गेडागुडी भुटेर खाने परम्परा यस पर्वको विशेषता हो।

यस दिन काठमाडौं उपत्यकाका विभिन्न मठमन्दिर, चैत्य तथा विहारअगाडि मकै, गहुँ, भटमास, ताय, माल्पा, स्वारीलगायतका खाद्य सामग्री प्रयोग गरी देवीदेवता, मन्दिर तथा चैत्यका आकृति बनाउने गरिन्छ। यस परम्परालाई ‘हरिमन्दि’, ‘नसा ब्वयेगु’ तथा ‘हलिमली’ पर्वका रूपमा चिनिन्छ। विभिन्न अन्न तथा खाद्य सामग्रीबाट बनाइएका कलात्मक आकृतिहरू प्रदर्शन गरिसकेपछि सम्बन्धित स्थानका दाफा भजन समूहले परम्परागत बाजागाजासहित भजन गाउने गर्छन्। अन्त्यमा ती अन्न तथा खाद्य सामग्रीलाई प्रसादका रूपमा बाँडेर खाने चलन छ।

अनिकालसँग जोडिएको ऐतिहासिक किंवदन्ती

संस्कृतिविद् ओम धौभडेलका अनुसार सकिमिला पुन्हिसँग अनिकाल र खाद्यान्नको महत्त्व जोडिएको एउटा किंवदन्ती प्रचलित छ। परापूर्वकालमा नेपालमा अनिकाल पर्दा धानको बीउसमेत उपलब्ध नभएको र खानका लागि गहुँ, मकै, भटमासजस्ता अन्न मात्र बाँकी रहेको कथन छ। त्यतिबेला मानिसलाई ती अन्न पनि खाद्यान्नका रूपमा उपभोग गर्न सकिन्छ भन्ने सन्देश दिन कार्तिक शुक्ल पूर्णिमाका दिन विभिन्न अन्नबाट देवीदेवताका आकृति बनाई पछि त्यही अन्न प्रसादका रूपमा खाने परम्परा सुरु भएको जनविश्वास रहेको उहाँ बताउनुहुन्छ।

त्यस्तै, पिँडालु खानुसँग जोडिएको अर्को धार्मिक किंवदन्ती पनि प्रचलित छ। कथनअनुसार रावणले सृष्टिकर्ता ब्रह्मासँग डाह गरी सम्पूर्ण दानवलाई मानव बनाउने उद्देश्यले कठोर तपस्या गरेका थिए। तपस्या सफल भएपछि खाद्यान्नको अभाव उत्पन्न भएको र रावणले जमिनमाथि मकै तथा जमिनमुनि पिँडालु उत्पन्न गरेको विश्वास गरिन्छ। पछि देवता र मानव मिलेर रावणको प्रयास असफल बनाउन कर्कलो नष्ट गर्न लागेको कथन छ। यसै किंवदन्तीअनुसार दशहराका दिन कर्कलोको तरकारी खाने, जनैपूर्णिमाका दिन ‘साराँ’ अर्थात् कर्कलोको अचार खाने र मंसिर शुक्ल पूर्णिमाका दिन पिँडालु खाने परम्परालाई राक्षसी शक्तिको निर्मूलसँग जोडेर व्याख्या गर्ने गरिन्छ।

ऐतिहासिक अभिलेखमा सकिमिला पुन्हिको उल्लेख

सकिमिला पुन्हिको प्राचीनता पुष्टि गर्ने विभिन्न ऐतिहासिक अभिलेखसमेत भेटिएका छन्। पशुपतिनाथ मन्दिरभित्र रहेको ताम्रपत्रमा उल्लेख भएअनुसार नेपाल संवत् ५६० मा राजा यक्ष मल्ल र उनका भाइ जीव मल्लले दिवंगत माता संसारदेवीको नाममा वर्षभरि मनाइने विभिन्न पूजापर्वको विवरण उल्लेख गराएका थिए। उक्त अभिलेखमा कार्तिक शुक्ल पूर्णिमाको दिन पनि समावेश गरिएको छ। यद्यपि, त्यहाँ ससकिमिला पुन्हि वा हरिमन्दि नभनी ‘जुधान पुन्हि’ उल्लेख गरिएको छ।

‘जुधान पुन्हि’ को वास्तविक अर्थ र त्यस दिनको पर्वसँगको सम्बन्ध भने स्पष्ट हुन सकेको छैन। उक्त दिन पिँडालु उसिनेर खाने परम्पराका कारण पछि गएर सोही दिन सकिमिला पुन्हिका रूपमा प्रख्यात भएको हुन सक्ने संस्कृतिविद् धौभडेलको भनाइ छ।

त्यस्तै, नेपाल संवत् ८१८ मा राजा भूपतीन्द्र मल्लले लेखाएको भक्तपुर दरबार क्षेत्रस्थित मालती चोकको अभिलेखले पनि यस पर्वको ऐतिहासिक परम्परालाई पुष्टि गर्छ। भक्तपुर दरबार क्षेत्रको तलेजु मन्दिरमा सकिमिला पुन्हि विशेष रूपमा मनाइन्छ। यस अवसरमा तलेजु भवानीलाई खीर अर्पण गर्ने तथा तलेजुको मूलचोकस्थित स्नेह मण्डपमा ‘नसा ब्वयेगु’ गर्ने परम्परा रहेको छ।

सकिमिला पुन्हिलाई धार्मिक आस्था र खाद्य परम्परामा मात्र सीमित गरेर हेर्न सकिँदैन। यस पर्वमा अन्नबालीको महत्त्व, खाद्य सुरक्षाको चेतना, प्रकृतिले दिएको उपजप्रतिको सम्मान र सामूहिक सिर्जनशीलता एकसाथ अभिव्यक्त भएको पाइन्छ। अन्नबाट देवीदेवताका आकृति बनाउने परम्पराले नेवार समुदायको कलात्मक सीप र मौलिक पहिचानलाई उजागर गर्छ।

यसरी सकिमिला पुन्हिले अनिकालका बेला उपलब्ध खाद्यान्नको महत्त्व बुझाउनेदेखि प्रकृतिले दिएको उपजको सम्मान गर्नेसम्मको सन्देश बोकेको छ। पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यो पर्व नेवार समुदायको ऐतिहासिक स्मृति, कृषि सभ्यता, धार्मिक विश्वास र सांस्कृतिक सम्पदाको जीवन्त उदाहरणका रूपमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *