राष्ट्रपति द्वारा फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित, गैरआवासीय नेपालीलाई समेत बाटो खुल्यो

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रिय सभाबाट जस्ताको तस्तै पारित भएको छ ।

पुनर्विचारका लागि राष्ट्रपतिले फिर्ता पठाएको विधेयक प्रतिनिधि सभाले भदौ २ गते जस्ताको तस्तै पारित गरेको थियो ।

राष्ट्रिय सभाले पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको विधेयक समितिले केही पनि परिवर्तन नगरी जस्ताको तस्तै राष्ट्रिय सभामा पठाएको थियो ।

राष्ट्रिय सभाले पनि राष्ट्रपतिले फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गरेसँगै अब विधेयक कानून बन्ने भएको छ ।

संविधानको धारा ११३ (४) मा राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गर्नुपर्ने व्यवस्था छ । संवैधानिक व्यवस्था अनुसार दुबै सदनले फिर्ता भएको विधेयक प्रस्तुत रूपमा वा संशोधन सहित पारित हुन सक्छ ।

संविधानको धारा ११३ (४) मा राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गर्नुपर्ने व्यवस्था छ ।

विधेयकले कानूनी हैसियत पाएसँगै जन्मसिद्ध नागरिकता पाएका नेपाली नागरिकका सन्तानले नागरिकता पाउनेछन् । त्यस्तै विधेयकले पहिलोपटक विदेशमा रहेका गैरआवासीय नेपालीलाई समेत नागरिकता दिने बाटो खुल्ने छ ।