आनी छोइङको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट, खारेज गर्न माग

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

उक्त नियुक्ति गैरकानुनी तथा विधि र प्रक्रियाविपरीत भएको दाबीसहित ‘राष्ट्रिय जेनजी नागरिक अभियान’ ले सर्वोच्चमा रिट दायर गरेको हो ।

अभियानका संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले संयुक्त रूपमा रिट निवेदन दर्ता गराएका हुन् । रिटमा नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा कानुनी प्रक्रिया पूरा नगरी डोल्मालाई उपाध्यक्षमा नियुक्त गरिएको जिकिर गरिएको छ । साथै, उक्त नियुक्ति बदर गर्न माग गरिएको छ ।

अभियानका सहसंयोजक अजय सोडारीका अनुसार नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाउँदै संगठनले यसअघि पनि सरकारको पटक–पटक ध्यानाकर्षण गराउँदै आएको थियो । नियुक्तिका विषयमा सार्वजनिक रूपमा उठेका प्रश्न र सरोकारलाई बेवास्ता गर्दै सरकारले डोल्मालाई सुरक्षाकर्मी तथा समर्थकसहित कोषमा उपस्थित गराई कार्यभार सम्हाल्ने वातावरण बनाएको अभियानको आरोप छ ।

नियुक्तिको कानुनी वैधता परीक्षण, विधिको शासनको पालना तथा कानुनी प्रक्रियाको सुनिश्चितताका लागि सर्वोच्च अदालतको ढोका ढकढक्याइएको अभियानले जनाएको छ ।

उक्त रिट निवेदनमाथि सुनुवाइका लागि भोलि (मङ्सिर ९ गते) पेसी तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *