उदयपुरमा एकै परिवारका तीन जनाको हत्या, एक जना पक्राउ

विराटनगर : उदयपुरमा एकै परिवारमा तीन जनाको हत्या भएको छ ।

शुक्रबार दिउँसो पारिवारिक विवाद भएपछि बेलका नगरपालिका–७ मैनामैनीका ३३ वर्षीय राजकुमार बस्नेत, ३३ वर्षीया सरिता बस्नेत र १२ वर्षीय सुजन बस्नेतको खुकुरी प्रहार गरी हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेशकुमार शोदारका अनुसार घटना लगत्तै इलाका प्रहरी कार्यालय बेलका रामपुरको टोली परिचालन गरिएको थियो ।

प्रहरीले ४३ वर्षीय नरबहादुर बस्नेतलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेका छन् । आफ्नै वंशजका तीन जनाको हत्या गरेर भाग्दै गरेका उनलाई प्रहरीले गए राति पक्राउ गरेको हो ।

मृतक सरिता नरबहादुरकी श्रीमती तथा सुजन छोरा हुन् । तीनैजनालाई नरबहादुरले खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

प्रहरीले नरबहादुरलाई बेलका–६ बरबोट नजिकैको जङ्गलबाट खुकुरीसहित पक्राउ गरेको हो ।
मृतक तीनै जनाको शव परीक्षणका लागि सुनसरीस्थित विपी मेमोरियल अस्पताल लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *