नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको एमाले अध्यक्ष ओलीको लीलाई सन्देश

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकाँग्रेसका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ । 

संघीय संसद भवन नयाँ बानेश्वरमा आज भएको भेटमा नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको परम्परागत सुमधुर सम्बन्ध र द्विपक्षीय सहयोगका विषयमा कुराकानी भएको थियो ।

भेटवार्तामा चीनको राष्ट्रिय जनकाँग्रेसका अध्यक्ष लीले नेपालसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकतामा राखेको वताउनुभयो । अध्यक्ष लीले नेपाली भूमि अन्य कुनै पनि मुलुकको विरुद्धका गतिविधि हुन नदिने नीतिका लागि नेपाललाई धन्यवाद दिनुभएको भेटवार्तामा सहभागी नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा.राजन भट्टराईले वताउनुभयो ।

उहाँले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारको कार्यकालमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका लागि निर्वाह गर्नुभएको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै राष्ट्रपति सीको नेपाल भ्रमणका समयमा गरिएका सम्झौताहरू कार्यान्वयनका लागि चीन प्रतिवद्ध रहेको स्पष्ट गर्नुभयो । साथै, वेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन गर्नका लागि पनि चीन प्रतिबद्ध रहेको वताउनुभयो ।

भेटवार्तामा उहाँले राष्ट्रपति सी चिनफिङले अध्यक्ष ओलीलाई पठाउनुभएको शुभकामना सन्देश  सम्प्रेषण गर्नुभएको थियो ।  सो अवसरमा एमाले अध्यक्ष ओलीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको वताउँदै नेपाली भूमिमा मित्रराष्ट्र विरुद्ध कुनै पनि गतिविधि हुन नदिने प्रतिवद्धता दोहोर्याउनुभयो । अध्यक्ष ओलीले स्वतन्त्र र सार्वभौम मुलुक नेपालको परराष्ट्र नीतिको आधार असंलग्नता रहेको स्पष्ट गर्दै चीनको विकास र प्रगतिमा खुशी व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले नेपाल र चीनबीचका सीमा नाका खोल्ने निर्णयप्रति खुशी व्यक्त गर्दै यसलाई छिटो कार्यान्वयनमा लैजान आग्रह गर्नुभयो । उहाँले छिमेकी मित्रराष्ट्र चीनमा अध्ययनरत नेपाली विद्यार्थीलाई छिटै स्वदेश फर्काउन सहयोगका लागि आग्रह गर्नुभयो । अध्यक्ष ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो ।

चिनियाँ जनकाँग्रेसका अध्यक्ष ली नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा अध्यक्ष ओलीसँगै उपाध्यक्षद्वय सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु रिमाल, परराष्ट्र मामिला विभाग प्रमुख डा.राजन भट्टराई, केन्द्रीय सदस्य कृष्ण केसी, पेम्वा लामा, डा. भीष्म अधिकारी, डा.अन्जान शाक्य र लक्की शेर्पा हुनुहुन्थ्यो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *