१५ वर्षीय वैभव सूर्यवंशीको क्रिकेटमा कीर्तिमानमाथि कीर्तिमान, ५३ बलमै दोहोरो शतक
काठमाडौं । भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशीले आफ्नो छोटो क्रिकेट करिअरमै विश्व क्रिकेटमा तहल्का मच्चाएका छन् । मात्र १५ वर्षको उमेरमा उनले अन्तर्राष्ट्रिय, घरेलु तथा फ्रेन्चाइज क्रिकेटमा एकपछि अर्को कीर्तिमान आफ्नो नाममा लेखाउँदै आएका छन् ।
सूर्यवंशीले हालै कतारको दोहामा जारी एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा अविश्वसनीय ब्याटिङ प्रदर्शन गरे । भारत ‘ए’ बाट खेलेका उनले मात्र ५३ बलमा २०४ रन बनाए । उनको इनिङ्समा २८ छक्का र सात चौका समावेश थिए ।
यस क्रममा उनले २८ बलमै शतक पूरा गर्दै लिस्ट ‘ए’ क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान कायम गरे । त्यस्तै, ५२ बलमै दोहोरो शतक पूरा गर्दै लिस्ट ‘ए’ क्रिकेटमा सबैभन्दा छिटो दोहोरो शतक बनाउने खेलाडीसमेत बने । एउटै इनिङ्समा २८ छक्का प्रहार गर्नु पनि नयाँ कीर्तिमान हो । उनको विस्फोटक ब्याटिङको मद्दतमा भारत ‘ए’ ले २५० रनको लक्ष्य १४.३ ओभरमै सात विकेटको क्षतिमा पूरा गरेको थियो ।
सूर्यवंशीको कीर्तिमान यात्रा यतिमै सीमित छैन । सन् २०२५ को आईपीएलमा राजस्थान रोयल्सबाट खेल्दै उनले गुजरात टाइटन्सविरुद्ध ३५ बलमै शतक प्रहार गरेका थिए । १४ वर्ष ३२ दिनको उमेरमा शतक बनाउँदै उनी पुरुष टी–२० क्रिकेटकै सबैभन्दा कान्छा शतककर्ता बनेका थिए ।
त्यस्तै, २०२५–२६ को विजय हजारे ट्रफीमा बिहारबाट खेल्दै अरुणाचल प्रदेशविरुद्ध ८४ बलमा १९० रन बनाएका थिए । उनी लिस्ट ‘ए’ क्रिकेटमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडीसमेत बने ।
आईपीएल २०२६ मा ७७६ रन बनाउँदै उनले ओरेन्ज क्याप जिते । प्रतियोगितामा ७२ छक्का प्रहार गर्दै एउटै संस्करणमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमानसमेत बनाए । टी–२० क्रिकेटमा ४७३ बलमै एक हजार रन पूरा गर्ने र आईपीएलमा ४४० बलमै एक हजार रन बनाउने कीर्तिमान पनि उनकै नाममा छ ।
त्यस्तै, पुरुष अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी, टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा कान्छा भारतीय खेलाडी तथा अन्तर्राष्ट्रिय क्रिकेटमा कम उमेरमै उत्कृष्ट खेलाडीको अवार्ड जित्ने खेलाडीमध्ये एकका रूपमा पनि उनले आफ्नो नाम स्थापित गरेका छन् ।
सानै उमेरमा असाधारण ब्याटिङ क्षमता प्रदर्शन गरिरहेका सूर्यवंशीलाई विश्व क्रिकेटको उदाउँदो प्रतिभाका रूपमा हेरिएको छ । उनको निरन्तरको प्रदर्शनले भविष्यमा विश्व क्रिकेटमा नयाँ कीर्तिमान कायम गर्ने सम्भावनालाई थप बलियो बनाएको छ ।
