चिकंमुगल दोबाटोमा लाखें किन फुत्त फुत्त उफ्रिन्छन् ? (रोचक प्रसङ्ग)
जहाँ जहाँ नेवार समुदायको वस्ती छ त्यहाँ त्यहाँ लाखे नाच निकाल्ने गरिएको पाइन्छ । इन्द्रजात्रामा प्रदर्शन गरिने अत्यन्त रोमाञ्चकारी नाचहरु मध्ये लाखे सर्वाधिक लोकप्रिय र आकर्षक नाच हो । लाखे नाच हेर्दा डरलाग्दो जस्तो लागे पनि साना बालबालिकाहरु समेत लाखे नाचेको हेर्न आतुर हुन्छन् ।
यो डबली वा कुनै निश्चित ठाउँमा नचाइने नभई थःने क्वःने र उपाकु परिक्रमा गर्ने सबै क्षेत्र लगायत काठमाडौंका विभिन्न सडक र खुल्ला ठाउँहरुमा नचाइने भएकोले लाखे नाच र यसमा बजाइने आकर्षक तथा उत्तेजित बाजाको तालले पूरा इन्द्रजात्रा पर्वमै रौनक थपिदिएको हुन्छ ।
नेपालमा लाखे अरु विभिन्न जिल्लाहरुमा पनि निकाल्ने गरिन्छ । खास गरी सबै लाखेहरु गाईजात्रा ताका निकालिने गरिन्छ ।
इन्द्रजात्रा ताका निकालिने लाखे भने मजिपाः लाखे मात्र हो । इन्द्रजात्रामा निकालिने यँला लाखे को घर काठमाडौंको क्वःने क्षेत्रमा रहेको लाखे ननी मा अवस्थित छ जसलाई लाखेछेँ (लाखेघर) भनिन्छ । इन्द्रजात्रामा त्यही लाखे ननीस्थित लाखेछेँबाट लाखे नाच आरम्भ हुन्छ ।
लाखे निकालिने खास समय भाद्रशुक्ल द्वादशी अर्थात हनुमानढोकामा यःसिं उठाउने दिनमै भएपनि यसको लागि तयारी भने पन्ध्र दिन अघिदेखि नै शुरु भएकोे हुन्छ । इन्द्रध्वजको पन्ध्र दिन अघि अर्थात भाद्रकृष्ण एकादशीका दिन लाखे आजुको ख्वाःपा (मुकुण्डो) बाहिर निकालिन्छ ।
लाखेछेँ (लाखेघर) मा एउटा अत्यन्त पुरानो पिला अर्थात सन्दूक (काठले बनाइएको बाकस) रहेको छ । त्यही बाकस भित्र लाखेको मुकुण्डो राखिएको हुन्छ । मुकुण्डो निकाल्ने र राख्ने बेला मात्रै त्यो पिला खोलिन्छ । तर पिला खोलिएपनि त्यसमा के छ भनेर हेर्ने गरिंदैन ।
पिला खोलेर त्यसमा हात मात्रै पसाएर भित्र रहेको मुकुण्डो निकालिन्छ भने जात्रा सकिएपछि पनि हात मात्रै पसाएर मुकुण्डो भित्र हालिन्छ । त्यही भएर पिला भित्र मुकुण्डो बाहेक अरु के के बस्तुहरु छन् कसैलाइ थाहा छैन । मुकुण्डो बाहिर निकाले पछि तान्त्रिक विधिबाट पूजा गरि त्यसको न्यास(प्राण तत्त्व) निकाल्ने गरिन्छ ।
त्यसपछि रंगरोगन(लंपुं छाय्गु) को लागि मुकुण्डोलाई चित्रकार कहाँ पठाइन्छ । न्यास निकाल्ने पूजा लाखे गुुठीका थकालीहरुले गर्छन् ।
आवश्यक रंगरोगन गरी १४ दिन पछि मुकुण्डो पुनः लाखेछेँमा फर्काइन्छ । एकादशीका दिन त्यसमा पुनः न्यास प्रतिष्ठापन गर्ने पूजा हुन्छ । द्वादशीका दिन मुकुण्डोमा झ्यापलाक्क परेको रातो रंगको कपाल जोडेर आसनमा विराजमान गराइन्छ ।
यति गरेपछि मुकुण्डो जीवन्त देखिन आउँछ । त्यसपछि लाखे बन्ने व्यक्तिले लाखेको पोशाक धारण गर्दछ । लाखेको पोशाकमा रातो चोलो, जामा, हातमा रुमाल र कम्मरमा घंघला बाँधिएको हुन्छ ।
अनि मुकुण्डो पूजा गरि मुकुण्डो बोकेर तल छिँडीमा आउँछन् । छिँडीमै बसेर अनुहारमा मुकुण्डो धारण गर्छन् र त्यसपछि फुत्त उफ्रेर लाखे बाहिर ननीमा निस्कन्छ र त्यहाँ तीन पटक उफ्रिन्छन् । त्यहाँ एकछिन झ्यालिंचा सहित लाखे नाच चल्छ । अनि लाखे ननीबाट बाहिर निस्की सडकमा आउँछ ।
त्यहाँबाट दौडेर मरु टोलतिर गई चिकंमुगल दोबाटोमा तीन चोटी फुत्त फुत्त उफ्रिन्छन् । त्यसपछि जैशी देवलतिर गई त्यहाँको पनि दोबाटोमा तीन चोटी फुत्त फुत्त उफ्रिन्छन् । आफ्नो नगरमा कुनै पनि प्रकारको महामारी नआओस् भनी महामारीलाई कुल्चिन त्यसरी उफ्रेको भन्ने जनविश्वास छ ।
लाखे नाचमा लाखेलाई जिस्काउँदै अर्को एउटा सानो पात्र पनि नाचिरहेको हुन्छ । त्यो सानो पात्रलाई ‘झ्यालिंचा’ भनिन्छ । झ्यालिचालाई आकाश भैरवका रुपमा लिइन्छ त्यसैले उनको मुकुण्डो सँधै आकाशतिर फर्किएको हुन्छ ।
लाखे आफैलाई पनि ‘शान्त भैरव’ भनिन्छ । भैरव भएकोले नै होला, लाखेलाई ‘लाखे आजु’ भन्ने गरिन्छ । लाखे नाचमा झ्यालिंचाले लाखेलाई जिस्काउने र लाखेले झ्यालिंचालाई लखे्ने गर्छ । लाखे र झ्यालिंचाको त्यो द्वन्द्व अत्यन्त रोमाञ्चकारी हुने गर्दछ ।
यति गरिसकेपछि लाखे सरासर यंगाल टोलमा एक स्थानीय राजभण्डारीको घरमा गई पूजा थाप्छन् । लाखेले थाप्ने यो नै पहिलो पूजा हो । यो पूजा थापिसकेपछि मात्रै लाखेले अरु पूजाहरु थाप्ने गर्छन् ।
इन्द्रजात्रा शुरु भएदेखि आठै दिन लाखे बाहिर आएर विभिन्न स्थानमा नाच प्रदर्शन गरिरहेको हुन्छ । कुमारीको थःनेया, क्वःनेया र नानीचाया हुँदा कुमारी रथको अगाडि अगाडि नै लाखे नाच आइरहेको हुन्छ । नानीचायाको दिन कुमारीको रथयात्रा समापन हुने बित्तिकै लाखे आजु आफ्नै घरमा फर्कन्छ र जात्रा सकिन्छ ।
इन्द्रजात्रा सकिएपछि लाखेको मुकुण्डोलाई पुनः पिला भित्र राखिएपछि अर्को इन्द्रजात्रा नआउन्जेल त्यो खोलिँदैन ।